द सिनेमा टाइम्स, काठमाडौं । साउनको अन्तिम साताबाट छायांकनको तयारीमा रहेको सिनेमा ‘राम नाम सत्य’को पि-प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ । सिनेमाका लागि कलाकार छनोटको क्रमपनि चलिरहेको छ । सिनेमामा अभिनेताद्धय विराज भट्ट, सुशिल श्रेष्ठ तथा अभिनेत्रीद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट अनुबन्धित भइसकेका छन् ।
यसैबीच, सिनेमामा कलाकार सुनिल थापा पनि अनुबन्धित भएका छन् । निर्देशक माइकल चन्दका अनुसार सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । माइकलले भने–‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदै छौं । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’
सिनेमालाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी माइकलको छ । अभिनेता सुशिल श्रेष्ठ ‘परिवर्तन’ नामक सिनेमाको सेटबाट फर्किएसँगै वर्कसप सुरु हुने निर्देशक चन्दले बताए । सिनेमाका साउथका कलाकार तथा एक्सन निर्देशकसँग पनि सहकार्य गर्ने तयारी भैरहेको छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो सिनेमामा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता डाक्टर डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । सिनेमामा महेश पौडेलको डीओपी रहनेछ ।


प्रतिक्रिया