प्रेम बानियाँको वृत्तचित्र ‘जिरो टु ८८४८’को ट्रेलर सार्वजनिक

प्रेम बानियाँको वृत्तचित्र ‘जिरो टु ८८४८’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वृत्तचित्र ‘जिरो टु ८८४८’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

निरञ्जन पाण्डे र बलराम बुढाथोकीले निर्देशन गरेको वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँले तयार पारेका हुन् । यो वृत्तचित्रमा सगरमाथा चढ्न हिंडेकाहरुको कथा, संकल्प र बाटोमा उनीहरुले भोग्ने चुनौतीहरु देखाइएको छ । सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रुपमा यात्रा थालेका थिए । त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ ।

कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसीहुँदै, ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडा, सुर्के, फाक्दिङ, मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेपहुँदै सर्वोच्च शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ ।

‘यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं । नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्ययाको आरम्भ हो । यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ ।’

निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए । ‘हामी लामो समय नेपालको सिर्जनात्म क्षेत्रमा काम गरेर हाल अमेरिकामा बस्ने साथीहरुले देशका लागि मिलेर केही गरौं भनेर लामो समयदेखि सोचेका थियौं । त्यसक्रममा देशलाई चिनाउनेगरी यो अवधारणा अघि सार्न सफल भयौं । हामीसँग टेण्डी शेर्पा, पुस्कार शाहलगायत व्यक्तित्व जोडिनुभयो । यो वृत्तचित्रलाई अमेरिकाका विभिन्न राज्य त्यसपछि युरोप र अष्ट्रेलिया तथा एशियाका देशमा देखाएर नेपालका हलहरुमा रिलिज गर्ने हाम्रो सोच छ,’ निर्देशक पाण्डेले भने ।

यो वृत्तचित्रलाई निर्देशकद्वय निरन्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायांकन गरेका हुन् । श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छाँयाकार छन् । कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह प्रोडक्सन टिममा रहेको वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले छायाँकन गरेका हुन् । उनीहरु दुवै यसका लागि शिखरमा पुगेका थिए ।