मदन खड्काको निर्देशनमा फरक धारको एक्सन सिनेमा ‘महाकाव्य’ निर्माण हुने

मदन खड्काको निर्देशनमा फरक धारको एक्सन सिनेमा ‘महाकाव्य’ निर्माण हुने

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फरक धारको एक्सनमा सिनेमा ‘महाकाव्य’ निर्माण हुने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै यो सिनेमा स्तरीय भिजुअल इफेक्ट्स (भीएफएक्स) र सशक्त कथामा निर्माण हुने घोषणा गरियो । पोस्टरमा दुई धारिलो भालाबीचको टकरावको दृश्य देख्न सकिन्छ । जसमध्ये एउटा भालामा आगो बलिरहेको छ । यसले युद्धको कथामा सिनेमा बन्न लागेको संकेत गर्छ ।

खुसी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई मदन खड्काले निर्देशन गर्नेछन् । यसअघि दर्जनौं म्यूजिक भिडियो निर्देशन गरिसकेका उनले ‘महाकाव्य’बाट सिनेमा निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शान्ति मगरको निर्माण रहने सिनेमामा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहनेछ ।

‘महाकाव्य’ले दर्शकलाई अद्भूत सिनेम्याटिक अनुभव दिने निर्देशक खड्काको दाबी छ । उनी भन्छन्, ‘ऐतिहासिक, पौराणिक र आधुनिक फेन्टासीको संयोजनमा सिनेमा आधारित हुनेछ । नेपाली संस्कृति, मिथक (अलौकिक घटना) र हराउँदै गएका पवित्र स्थलहरुको कथालाई भिजुअलको माध्यमबाट प्रस्तुत गर्नेछौं । यो नेपाली सिनेमाको इतिहासमै नयाँ युगको सुरुवात हुनसक्छ ।’

आगामी भदौबाट छायांकन सुरु गर्न लागिएको सिनेमाको मुख्य भूमिकामा एक कलाकारलाई प्रस्तुत गरिँदैछ । ती कलाकारको नाम भने सार्वजनिक गरिएको छैन । उनले लामो समयदेखि शारीरिक रुपमा परिवर्तन गर्नुका साथै एक्सन र नृत्यको तालिम लिएका छन् । सिनेमालाई यसै वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।