द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक कृषा चौलागाइले निर्देशन निर्माण हुन लागेको तेस्रो सिनेमा ‘जहाजैमा’को मुख्य भूमिकामा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुवन्धित भएका छन् । मंगलबार आज सिनेमाको निर्माण टिमले केदारसँग कागजी सम्झौता गरेको हो ।
पहिलो पटक कृषा र केदारले सिनेमामा सहकार्य गर्न लागेका हुन् । यो सिनेमाको मुख्य भूमिकामा केदार अनुवन्धित भएपछि कृषाले भनिन्-‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो सिनेमामा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ । उहाँलाई सिनेमामा अनुबन्धित गर्न पाउँदा निकै नै उत्साहित छौं ।’
हाल यो सिनेमाको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ । यो सिनेमाका निर्माता उज्वल गुरागाईं जापानबाट सिनेमाको प्रि-प्रोडक्सनमा साथ दिन नेपाल आएका छन् । मंगलबार आज कलाकार केदारसँग उज्वलले नै कागजी संझौता गरेका हुन् ।
सिनेमामा मल्टिस्टारर कलाकारहरु रहनेछन् । अन्य कलाकारहरुसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल नभई सकेको निर्माणपक्षले बताएको छ । यो सिनेमामा यसअघि जापानीज अभिनेत्री रुजेल इचिमिया फाइनल भइसकेकी छिन् । सिनेमाले नेपाल, जापान र फिलिपिन्स त्रिदेशिय सम्बन्धको कथा भन्नेछ ।
यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको सिनेमाको छायांकन आगामी भदौबाट सुरु हुनेछ । सिनेमालाई नेपाल, जापान र फिलिपिन्समा खिचिने छ ।


प्रतिक्रिया