द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको ‘कोशेढुंगा’ नेपालसँगै अमेरिका, अष्ट्रेलिया, जापान, युके, क्यानडा लगायत ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शन हुनेछ ।
यो सिनेमालाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेशनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो सिनेमा घोषित मितिमा देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउने निर्माण कम्पनीले जनाएको छ । ‘हाम्रो सिनेमा ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुनेछ । अन्य देशमा पनि रिलिजका लागि वितरकहरूसँग कुरा भइरहेको छ,’ निर्देशक पौडेलले भने, ‘रिलिजसम्म अन्य केही देश पनि थपिनेछन् ।’
डायस्पोरामा नेपाली सिनेमा ‘कोशेढुंगा’ एकसाथ ४० देशका हलमा एकसाथ रिलिज गर्न लागिएको अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिए । नेपाली सिनेमा डायस्पोरामा यति धेरै देशमा एकसाथ रिलिज हुँदा ‘कोशेढुंगा’ले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाई दिने अपेक्षा वितरक ढकालको छ ।
यो सिनेमाको छायांकन स्याङ्जाको आँधिखोला, त्रिवेणी, सिरुवारी क्षेत्र र काठमाडौंमा सेट लगाएर गरिएको थियो । गाउँले सेटअपमा निर्माण गरिएको सिनेमाले मौलिक कथा पस्किनेछ । सिनेमाको केही समयअघि सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई गाउँको पृष्ठभूमिमा पछ्यौरी ओढेको ग्रामीण महिलाको चरित्रमा प्रस्तुत गरिएको थियो । जसले दर्शकमाझ उत्साह पैदा गर्न सफल भएको बुझाई निर्माण टिमको छ ।
नरदेवी फिल्मस्को प्रस्तुति रहेको ‘कोशेढुंगा’मा सुरक्षासहित आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउँवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा, स्नेहा जोशी, सविता रेग्मी लगायतको अभिनय रहेको छ ।
सिनेमाको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग तथा कार्यकारी निर्माता दिनेश खड्का छन् । बाबु श्रेष्ठले छायांकन, नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत रहेको सिनेमाको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।


प्रतिक्रिया