द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको सिनेमा ‘द ब्लू लाइट’को छायांकन सकिएको छ । बिहीबार अन्तिम दृश्य खिचिएको सिनेमा २५ दिनमा प्याकअप भएको हो । गत जेठ २२ गतेबाट सिनेमाको छायांकन सुरु गरिएको थियो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सिनेमा छायांकन गरिएको हो ।
सिनेमाको छायांकन सकिएपछि बेनिशाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसमा निभाएको चरित्र सधैंभरि आफ्नो साथमा रहने बताएकी छन् । ‘यो त्यस्तो प्रकारको टोली हो, जुन हरेक कलाकार चाहन्छन् । सबैलाई थाहा थियो कि उनीहरू के गर्दैछन् । अनुशासन, समर्पण र जोश सबै ठीक ठाउँमा थियो । यो सिनेमा र मैले खेल्न पाएको चरित्र, सधैंभरि मेरो साथमा रहनेछ ।’
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘द ब्लू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । ‘बलिदान’का सह-लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका उनको यो डेब्यु निर्देशकिय सिनेमा हो । उनले आफूले बनाउन खोजेको कुरा सिनेमामा उतार्न सफल भएको बताएका छन् । कलाकारहरुको कामले सिनेमाको कथालाई जीवन्त बनाएको निर्देशक चौहानको दाबी छ ।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीसहित बाल कलाकारहरु ग्रिसमा कटुवाल र सहारा शर्मा लगायतको अभिनय छ । रमन ग्रे सह-निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अभिनेत्री हमालसँगै छायांकार नरेन्द्र मैनाली समेत रहेका छन् ।


प्रतिक्रिया