‘मालती मंगले’को मुख्य भूमिकामा विजय बराल र वर्षा राउत अनुबन्धित

‘मालती मंगले’को मुख्य भूमिकामा विजय बराल र वर्षा राउत अनुबन्धित

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालको लगानी रहने सिनेमा ‘मालती मंगले’को मुख्य भूमिकामा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । सिनेमाको निर्माण टिमले शुक्रवार उनीहरुसँग कागजी सम्झौता गरेको हो ।

रानी म्युजिक इन्टरनेशनल प्रालिको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा समेत हो । पटकथा तथा संवाद संयोग गुरागाईले लेखेको सिनेमा कथा स्वंयम निर्देशक पाण्डेयको नै हो । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको सिनेमालाई महेश पौडेलले खिच्नेछन् ।

निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा निर्माण हुनेछ । अहिले नै विजय र वर्षाको भूमिकाबारेमा विस्तृत जानकारी दिन नमिल्ने निर्देशक पाण्डेय बताउँछन् । यो सिनेमाका लागि विजय र वर्षा राउतले ३ महिना अन्य सिनेमामा काम नगर्ने भएका छन् । उनीहरूले आफ्नो चरित्र निर्माणको लागि यो समय लिएको निर्माण टिमले जानकारी दिएको हो ।

विजय बस्यालको पोस्टर डिजाइन, रोमी तण्डुकारको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीको संगीत सिनेमामा रहनेछ । भदौको पहिलो हप्तादेखि करिब ४० दिनको तालिकासहित छायांकन सुरु हुने यो सिनेमा यही वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी भैरहेको कार्यकारी निर्माता ज्ञवालीले बताए ।

करिब ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकालको नेपाली सिनेमासँगको सम्बन्ध पुरानो छ । विसं २०५८ सालमा निर्माण भएको सिनेमा ‘आशीर्वाद’मा उनले मुख्य भूमिका अभिनय गरेका थिए । यो सिनेमा गायक ढकालका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ रिलिजको करिब २४ वर्षपछि ‘मालती मंगले’ मार्फत निर्माताको भूमिकामा नेपाली रजतपटमा फर्केका हुन् ।