अनमोल र प्रिन्सीको मुख्य भूमिका रहने ‘बाटुलो जुन’को छायांकन सुरु

अनमोल र प्रिन्सीको मुख्य भूमिका रहने ‘बाटुलो जुन’को छायांकन सुरु

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने सिनेमा ‘बाटुलो जुन’को पहिलो चरणको छायांकन सुरु भएको छ । अभिनेता तथा निर्देशक भुवन केसीको दोस्रो निर्देशकीय सिनेमाको शनिबार धादिङको नौबिसेस्थित काउले छायांकन सुरु गरिएको हो ।

शनिबार यो सिनेमाको छायांकन सुरु भएसँगै फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरिएको थियो । जहाँ अभिनेता अनमोल केसीलाई डेब्यु अभिनेत्री प्रिन्सी खतिवडासँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको पोस्टर सार्वजनिक भएसँगै अनमोल र प्रिन्सीको जोडीलाई गजब देखिएको प्रतिक्रिया दर्शक तथा सिनेमाकर्मीले दिएका छन् । ‘बाटुलो जुन’ ग्रामिण सेटिङको सुन्दर प्रेमकथामा निर्माण हुन लागेको निर्देशक केसीले बताए ।

सनराइज पिक्चर्स प्रालिको ब्यानरमा जिया केसीको लगानीमा निर्माण हुने सिनेमाको बजेट २५ लाख बताइएको छ । यो सिनेमाको छायांकन तालिका ५० दिनको भएपनि पहिलो चरण सुटिङ तालिका एक हप्ताको हुनेछ । यो सोसल ड्रामा सिनेमाको दोस्रो चरणको छायांकन भदौबाट पोखरा, रुकुम लगायतका पश्चिम नेपालका पहाडी जिल्लामा हुने जानकारी निर्देशक केसीले दिए ।

यो सिनेमाको पहिलो चरणको छायांकन सुरु भएपनि अनमोल र प्रिन्सीबाहेक अरु को-को कलाकार रहने भन्ने केही जानकारी निर्माण टिमले दिएको छैन ।

अनमोल अभिनित सिनेमा ‘जेरी अन टप’ असोजको ३१ गतेबाट रिलिज हुँदैछ । भदौमा ‘बाटुलो जुन’को छायांकन सकेपछि अनमोल जेरीको प्रमोसनमा सहभागी हुनेछन् । यो सिनेमा रिलिज पश्चात उनले झरना थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्ने तालिका रहेको छ ।