द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ऊनको स्वीटर’ले शनिबार प्रदर्शनको ५१ औं दिनको यात्रा पूरा गरेको छ । नवीन चौहानको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमाले देशभरका ३० बढी हलमा ५१ औं दिन मनाएको निर्माण कम्पनी आर्टमान्डूले जनाएको छ । यो अवधिसम्म सिनेमाले बक्सअफिसमा ११ करोड ८० लाखमाथिको व्यापार गरेको छ ।
शनिबार काठमाडौंमा प्रदर्शनको ५१ औं दिनको अवसर पारेर सिनेमाको निर्माण टिमले सेलिब्रेसन कार्यक्रम आयोजना गरेको थियो । जहाँ हल सञ्चालकलाई कदर पत्र र कलाकार तथा प्राविधिकलाई ‘टोकन अफ लभ’ प्रदान गर्दै केक समेत काटिएको थियो । सिनेमा ५१ औं दिने सेलिब्रेसन कार्यक्रममा निर्देशक नवीन चौहान, कलाकारहरु विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, गायक सुजन चापागाईं लगायतको उपस्थिति रहेको थियो ।
शनिबार काठमाडौंमा आयोजित ५१ औं दिनको सेलिब्रेसन कार्यक्रममा पत्रकारसँग अनौपचारिक कुराकानीको क्रममा सिनेमाका लेखक तथा निर्देशक नवीन चौहानले सिक्वेल नबन्ने जानकारी दिए । ‘ऊनको स्वीटर’ सफल भएपछि यसको सिक्वेल बन्छ कि बन्दैन भन्ने चासो धेरैमा देखिएको छ । किनकि, सिनेमाको कथा अधुरैमा छाडिएको थियो । कुनैपनि हिट सिनेमाको सिक्वेल बनाउँदा कथाको मिठास नै हराउने निर्देशक चौहानको भनाई थियो ।
अन्तरजातीय प्रेमकथामा आधारित सिनेमा ‘ऊनको स्वीटर’ सफल हुनुमा गीतसंगीतको भूमिका महत्त्वपूर्ण मानिएको छ । सिनेमामा समावेश चारवटा गीत ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाइनेजो जिन्दगानीमा’ दर्शकमाझ लोकप्रिय बनेका थिए । सोही गीतले प्रदर्शनको सुरुवाती दिनमा दर्शकलाई हलसम्म तान्न सहयोग गरेको विश्लेषण सिनेमाकर्मी छ ।
यो वर्षको पहिलो सुपरहिट सिनेमा ‘ऊनको स्वीटर’ छ । आर्टमाण्डुको व्यानरमा निर्माण भएको सिनेमालाई चिन्तन राज भण्डारीले खिचेका हुन् ।


प्रतिक्रिया