नाटक ‘शिरिषको फूल’मार्फत् अभिनयमा कमव्याक गर्दै जीवन लुइँटेल

नाटक ‘शिरिषको फूल’मार्फत् अभिनयमा कमव्याक गर्दै जीवन लुइँटेल

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हाल अमेरिकामा रहेका अभिनेता जीवन लुइँटेल अभिनयमा कमव्याक गर्ने भएका छन् । उनी कुनै सिनेमा मार्फत् नभई रंगमञ्चमा कमव्याक गर्न लागेका हुन् । कान्तिपुर थिएटरले आगामी साउन १ गतेदेखि मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’मा जीवन सुयोगवीरको भूमिकामा अभिनय गर्दैछन् ।

साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यो नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले गर्नेछिन् । कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिईओ प्रकाश पुरीका अनुसार नाटक मञ्चन कै लागि जीवन लुइँटेल आगामी हप्ता नेपाल आउँदै छन् । ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आधारमा परिपक्व पात्र चाहिएको थियो, त्यसैले उहाँलाई प्रस्ताव गर्यौं,’ उनले भने ।

नाटकमा प्रमुख पात्र सकम्बरीको भूमिकामा कसले अभिनय गर्ने भन्नेबारे भने हालसम्म खुलाइएको छैन । सुयोगवीरपछी ‘शिरीषको फूल’की मुख्य पात्र ‘सकम्बरी’को भूमिकामा को देखीने हो भन्ने जिज्ञासाले सवैको ध्यान खीचेको छ । सिईओ पुरीका अनुसार दर्शकले लामो समयपछि जीवनलाई रंगमञ्चमा देख्दा उत्साहका साथ स्वागत गर्नेछन् ।

गत महिना कान्तिपुर थिएटरले रेखा थापाको मुख्य भूमिकामा मञ्चन गरेको नाटक ‘मीरा’ले चर्चा कमाएको थियो । नाटक ‘शिरिषको फूल’बाट जीवन लुइँटेलको कमब्याक हुने भएपछि यो थप चासोको विषय बनेको विश्वास कान्तिपुर थिएटरको छ ।