चलचित्र विकास बोर्डले मनायो २५ औं स्थापना दिवस, सर्वाधिक कमाउने २५ सिनेमाका निर्मातालाई सम्मान

चलचित्र विकास बोर्डले मनायो २५ औं स्थापना दिवस, सर्वाधिक कमाउने २५ सिनेमाका निर्मातालाई सम्मान

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले असार १६ गते आज आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । सोमबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा विकास बोर्डले बक्स अफिस एप उद्घाटन, ‘चलचित्रमा नेपालको पहिलो’ पुस्तक विमोचन, बोर्डबाट प्रदान गरिने ३३ वटा सेवाहरुको अनलाइन सर्भिस उद्घाटन, पहिलो सिनेमा ‘आमा’को पोस्ट अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान र असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको जानकारी दिइएको थियो ।

यस्तै, पछिल्लो २५ वर्षमा सर्वाधिक कमाउने २५ वटा नेपाली सिनेमाको सूची सार्वजनिक गरेको हो । चलचित्र विकास बोर्डले २५ वर्षको अवधिमा ७ करोडमाथि कमाइ गर्ने २५ सिनेमाको सूची सार्वजनिक गर्दै सम्बन्धित निर्मातालाई सम्मान गरेको थियो । यो सूचीको शीर्षस्थानमा गत वर्ष प्रदर्शनमा आएको सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंङ्गी’ तथा २५ औं स्थानमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ रहेको छ ।

सोमबार आयोजित वार्षिकोत्सव कार्यक्रममा विकास बोर्डले सार्वजनिक गरेको सूचीमा ‘पूर्णबहादुरको सारंङ्गी’को कमाइ ४६ करोड ८७ लाख ४१ हजार छ । यो सिनेमाको १७ लाख टिकट बिक्री भएको थियो । उक्त सूचीको दोस्रो स्थानमा ‘कबड्डी ४’ छ । यो सिनेमाले २१ करोडमाथि कमाएको छ । १९ करोड ९२ लाख कमाइ गर्दै तेस्रो स्थानमा ‘१२ गाउँ’ रहेको छ भने चौथो स्थानमा १७ करोड ५३ लाख कमाइसहित ‘छक्का पञ्जा ४’ छ ।

त्यस्तै, जारी पाँचौं (९१७ करोड ४८ लाख), छक्का पञ्जा छैठौं (१६ करोड १० लाख), महाजात्रा सातौं (१५ करोड ६७ लाख), छक्का पञ्जा ५ आठौं (१५ करोड २० लाख), कोहिनूर नवौं (१४ करोड ७५ लाख), छक्का पञ्जा २ दशौं (१४ करोड ५१ लख), शत्रु गते ११ औं (१२ करोड ६५ लाख), ऊनको स्वीटर १२ औं (१० करोड ६२ लाख), कबड्डी २ १३ औं (१० करोड ३५ लाख), बोक्सीको घर १४ औं (१० करोड १० लाख), छ माया छपक्कै १५औं (९ करोड ९२ लाख) स्थानमा छ ।

यसैगरी, दिमाग खराब १६ औं (८ करोड ९८ लाख), अञ्जिला १७ औं (८ करोड ८३ लाख), परदेशी २ १८ औं (७ करोड ९२ लाख), छक्का पञ्जा ३ १९ औं (७ करोड ८३ लाख), प्रेमगीत ३ २० औं (७ करोड ६३ लाख), कबड्डी कबड्डी कबड्डी २१ औं (७ करोड ५९ लाख), पूजार सार्की २२ औं (७ करोड ३८ लाख), महापुरुष २३ औं (७ करोड ३५ लाख), कबड्डी २४ औं (७ करोड ३४ लाख) र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ ७ करोड ३२ लाखसहित २५ औं स्थानमा छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सूचीमा ‘छक्का पञ्जा’ समूहको मात्र ६ वटा सिनेमा परेको छन् । त्यस्तै, ‘कबड्डी’ समूहको ‘जारी’ सहित पाँच र ‘जात्रा’ समूहको दुईवटा सिनेमा परेका छन् । अभिनेता प्रदीप खड्का अभिनित दुई सिनेमा ‘पूजार सार्की’ र ‘प्रेमगीत ३’ सर्वाधिक कमाउने २५ सिनेमाको सूचीमा छन् । सिनेमाकर्मी बाक्लो उपस्थिति रहेको बोर्डको २५ औं वार्षिकोत्सव कार्यक्रम भव्य अनि सव्य रुपमा सम्पन्न भएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।