कला क्षेत्रका को-को पुगे रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुन

कला क्षेत्रका को-को पुगे रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुन

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कला क्षेत्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्ने कलाकर्मीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति एैक्यवद्धता प्रदर्शन गर्न सञ्चालन गरिएको हस्ताक्षर अभियानमा बलियो साथ दिएका छन् । शुक्रबार एकसाथ एक दर्जनभन्दा बढी कलाकारहरूले रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।

शुक्रबार रास्वपाका सभापति रवि लामिछानको पक्षमा हस्ताक्षर गर्नेमा अभिनेता कृष्ण मल्ल, खगेन्द्र लामिछाने, संगीतकार तथा गायक खेम सेञ्चुरी, हास्यकलाकारहरू राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, निर्देशक अशोक शर्मा र दीपेन्द्र के खनाल, रंगपत्रकार प्रकाश सुवेदी लगायत छन् ।

अभिनेता विपीन कार्की र अभिनेता रमेश उप्रेतीले यसअघि नै रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमै पुगेर हस्ताक्षर गरेका थिए । शुक्रबार भने नागपोखरीस्थित एक रेस्टुरेन्टमा हस्ताक्षर कार्यक्रम राखिएको थियो । आज हस्ताक्षर गर्न उपस्थित कलाकारलाई जुटाउने कार्यमा रविकी पत्नी निकिता आफैँ सक्रिय भएको पार्टी स्रोतले जानकारी दिएको हो । उनी चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत हुन् ।

रवि लामिछानेको मुद्दामा अदालतबाट निष्पक्ष न्याय सम्पादन होस् भन्ने आफूहरूले चाहेको कलाकारहरूले हस्ताक्षरपछि मिडियासँग बताए ।