द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र प्रकाश सपुतको मुख्य भूमिका रहेको सिनेमा ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनको लागि काभ्रे पुगेको थियो ।
हिजो शनिबार सिनेमाको काभ्रे पनौती नगरपालीका बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो । ‘सिनेमा मिरमिरेको काभ्रेबाट छायांकन सुरु भएको छ । हिजो शनिबारबाट सुरु भएको छायांकन हामी करिब ३५ दिन खिच्ने छौं,’ निर्देशक यम शेर्पाले भने । उनका अनुसार सिनेमाको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।
यार्सा फिल्म्सको प्रस्तुति रहने सिनेमामा दयाहाङ र प्रकाशसहित सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम डोल्मा गुरुङ, भोलाराज सापकोटा तथा बाल-कलाकार शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहनेछ । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनले निर्देशकीय डेव्यु ‘कार्साङ’मा काम गरेका थिए ।
निर्माणपक्षले सिनेमाको कथाबारे केही खुलाउन चाहेको छैन् । सिनेमाको निर्देशनसँगै कथा पनि यम शेर्पा स्वयंमले लेखेका हुन् । सिनेमालाई आलोक शुक्लाले खिचिरहेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको सिनेमामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ सह-निर्माता तथा कार्यकारी निर्मातामा आरआर फिल्मस्का सञ्चालक रोहित कट्टेल रहेका छन् ।


प्रतिक्रिया