द सिनेमा टाइम्स, काठमाडौं । रोशन दासको डेव्यु निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘प्रतिवैरम्’को आइटम गीतको छायांकन सम्पन्न भएको छ । मधेशको कथामा आधारित सिनेमाको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिन लगाएर खिचिएको हो ।
कोरियोग्राफर सुरेन बसेलका अनुसार आइटम गीतमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । सिनेमाको कथाबारे डेव्यु निर्देशक दास भन्छन्, ‘मधेशबारे बन्ने धेरै सिनेमाहरूमा न त वास्तविक सौन्दर्य देखिन्छ, न त गहिरो समस्या । ‘प्रतिवैरम्’ मार्फत त्यो अभाव हटाउने प्रयास गरेका छौं ।’ सिनेमाले मधेश केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु-बहिनीको भावनात्मक कथा उठाएको छ ।
रेज इन्टरटेनमेन्टको प्रस्तुति तथा किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण भैरहेको सिनेमाको कथा स्वयंम निर्देशक दासले लेखेका हुन् भने पटकथा युवराज भट्टराईको रहेको छ ।
सिनेमामा सम्राट दास, प्रियंका कार्की, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, विरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
आइटम गीतमा संगीत मनिष अधिकारी, शब्द रचना रोशन दास र स्वर रितिका श्रेष्ठको रहेको छ भने छायांकन नितेश घतानले गरेका हुन् । निर्देशक दासका अनुसार सिनेमाको आधा भन्दा बढी छायांकन सम्पन्न भइसकेकाले बाँकी छायांकन बर्खा सकिएपछि गरिनेछ ।



प्रतिक्रिया