द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठ सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर सार्वजनिक गरिएको हो ।
सिनेमाका निर्माता विमल न्यौपानेले भने, ‘देशभर एकसाथ सिनेमाको प्रचार तथा दर्शकमा उत्सुकता सिर्जना होस् भन्ने हेतुले देशभरका ठूला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौं ।’ सिनेमाको प्रचार फरक तरिकाले गर्दा दर्शकको ध्यान खिच्ने अपेक्षासहित देशका ठूला सहरमा एकसाथ पोस्टर सार्वजनिक गरिएको हो । मोफसलका दर्शकलाई पनि सिनेमाबारेमा जानकारी दिने उद्देश्य रहेको निर्माता न्यौपानेले बताए ।
निर्माण टिमले दुई पोस्टर एकसाथ सार्वजनिक गरेको छ । राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा विजय बराल, केकी अधिकारी र मिरुना मगर छन् । अर्को पोस्टरमा केकी अधिकारी मात्र छिन् । पोस्टरले सम्बन्धको यथार्थलाई चित्रण गरेको छ ।
एउटा पोस्टरमा छेउछेउमा केकी र मिरुना छन् । बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । विजय केकीको निलो कलर मिरुनाको रातो कलरको बीचमा छन् । केकी विजयको दिदी र मिरुना उनले विवाह गर्न चाहेको युवतीजस्तो देखिन्छ । त्यसैले विजय आफ्नो जातीय परम्परालाई अंगाल्दै परिवारतिरै बसौँ वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गरौँ भन्ने दोधारमा रहेको पोस्टरबाट बुझ्न सकिन्छ ।
अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन् । उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ । त्यसैले उनी क्रान्तिकारी निर्णय गर्दै विजयलाई साथ दिन्छिन् वा सामाजिक परम्परालाई नै निरन्तरता दिनुपर्छ भन्ने दोधारमा रहेको पोस्टरले संकेत गरेको छ । पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी ।’ यसले विजयको निर्णयमा केकीको साथ रहेको संकेत गर्छ ।
पोस्टरमा रहेका कलरले दोधारमा रहेका पात्रको मनोविज्ञान चित्रित गर्छ । धागोले पोस्टरलाई केही फरकपन दिएको छ । दर्शकमाझ पोस्टरले सिनेमालाई नोटिस गराउन सक्छन् । यो सिनेमाको यसअघि नै फर्स्टलुक्स सार्वजनिक भैसकेको थियो । सिनेमालाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो ।
सिनेमामा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ आगामी भदौ ६ गतेबाट देशव्यापी रिलिज हुनेछ । सिनेमाको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा कमल न्यौपाने र विमल न्यौपाने तथा कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।


प्रतिक्रिया