द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘जदौ’बाट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बाहिरिएकी छन् । उनी सिनेमाबाट बाहिरिएसँगै निर्माण टिमले उनको ठाउँमा अभिनेत्री नीति शाहलाई अनुबन्धित गरेको छ । शनिबार निर्माण टिमसँग नीतिले लिखित सम्झौता गरेकी हुन् ।
अन्तरजातिय प्रेमकथामा निर्माण हुने सिनेमाका लेखक काजी लिम्बुले साम्राज्ञीको डेट नमिलेका कारण नीतिलाई मुख्य भूमिकामा फाइनल गरिएको बताए । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता मुकुन भुषाल अनुबन्धित भैसकेका छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’को निर्देशक तथा बाँकी कलाकार तथचा प्राबिधिकबारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन् ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा निर्माण हुने सिनेमाको सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहने सिनेमामा बाबुल गिरीको संगीत छ । सिनेमाको छायांकन दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा गरिनेछ ।


प्रतिक्रिया