दिपकराज गिरीको स्टाटसको सामाजिक सञ्जालमा चर्चा, केदार घिमिरेको जवाफ ‘दादाको जय होस्’

दिपकराज गिरीको स्टाटसको सामाजिक सञ्जालमा चर्चा, केदार घिमिरेको जवाफ ‘दादाको जय होस्’

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा उद्योगका चर्चित अभिनेता तथा निर्माता दिपकराज गिरी फेरि एकपटक आफ्नो सामाजिक सञ्जालमा राखिएको एउटा स्टाटसमार्फत चर्चामा आएका छन् । उनले हिजो मात्रै लेखेको फेसबुक स्टाटस अहिले चौतर्फी चर्चाको विषय बनेको छ ।

‘छक्का पञ्जा’ सिरिजजस्ता सफल सिनेमा निर्माण गरेका गिरीले लेखेको यो स्टाटस आगामी भदौ ६ गते देशभरका प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’का अभिनेता तथा सहकर्मी केदार घिमिरे ‘माग्ने बुढा’लाई लक्षित छ ।

दिपकराजले लेखेका छन्, ‘गाउँबाट आएको एउटा गरिब परिवारको केटा संघर्ष गर्दै यहाँसम्म आइपुग्छ । सिनेमामा काम गर्दै गर्दा उसको माग एक्कासी बढ्छ । निर्माताहरूले उसलाई महँगो पारिश्रमिकमा काम गराउन हानथाप गर्न थाल्छन् । अनि सुरु हुन्छ सामाजिक सञ्जालमा रोइलो – माग्नेले त्यति लिने ? चप्पल लगाएर हिँड्ने त्यो केटो अब त्यहाँसम्म पुगेछ ? जोकरलाई त्यति पैसा ?’

उनले थप लेखेका छन्, ‘ए बाबा, चोरेर लिएको होइन, उसले काम गरेको हो । सफल सिनेमाहरूले उसको मूल्य बढाएको हो । कुनै पनि प्रतिभाको मूल्य बजारले निर्धारण गर्छ । तर यस्ता बहानामा हुने गाली–गलौज, तल्लो स्तरको टिप्पणी देख्दा हैरानी लाग्छ ।’

दिपकराजले पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा ‘गाली-गलौजको प्रथा’ व्यापक बन्दै गएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा हुने अस्वाभाविक, प्रायोजित र नियोजित आलोचना एकदिन सबैका लागि घातक हुने चेतावनी पनि दिएका छन् । दीपकको उक्त स्टाटस सार्वजनिक भएपछि १ घण्टा नवित्दै केदार प्रसाद घिमिरेले छोटो तर अर्थपूर्ण प्रतिक्रिया दिएका छन् – ‘दादाको जय होस् ।’

‘जय एकादशी, जय सिनेमा’ भन्ने नारासहित निर्माता तथा कलाकार गिरीले टोलमा सबै घर बलियो भएको राम्रो मान्न आग्रह गर्दै सकारात्मक सन्देश पनि दिएका छन् । दिपकराजको यो अभिव्यक्तिपछि सिनेमा क्षेत्र र दर्शकको मिश्रीत प्रतिक्रिया आएको छ ।

त्यसो त सिनेमा ‘माग्ने राजा’ को प्रचार सुरु भएसँगै यसले निर्माण पक्ष र कलाकारहरूबीचको सम्बन्ध, पारिश्रमिक र सामाजिक सञ्जालमा हुने टिप्पणीबारे बहस उठाएको देखिन्छ । खासमा केदार घिमिरेले यो सिनेमामा ६१ लाख पारिश्रमिक लिएको बिषयलाई अत्याधिक ठुलो इश्यु बनाइएको देखिन्छ । तर, केहि हप्ताअघि यो सिनेमाको एक पत्रकार सम्मेलनमा पारिश्रमिक लिएअनुसार सरकारलाई ट्याक्स ‘कर’ पनि तिरिरहेको प्रतिक्रिया दिएका थिए । तर केदारले आफूले ६१ लाख लिएको कुरा कतै भनेका छैनन् ।