द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुनको १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । सिनेमाका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार यो सिनेमा नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ ।
नेपालमा नेपाली भाषामा रिलिज हुने सिनेमा भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने निर्माणपक्षको भनाई छ । यो सिनेमालाई भारतमा एमके फिल्म डिस्ट्रीब्यूटर तथा पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा सिनेमाको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् । फागुनको १ गतेबाट नेपालमा सिनेमाको हिन्दी भर्सन रिलिज हुने छैन् ।
‘कल्ली’को फर्स्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बजारमा राम्रो छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाको हाल धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा महेश दवाडीको लेखन छ ।
सिनेमामा सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारको अभिनय छ । यो सिनेमाले लोभको कथा भन्छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो सिनेमा बनेको निर्माणपक्षले बताएको छ । सिनेमामा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ ।


प्रतिक्रिया