द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विल्सन विक्रम राईले सिनेमा निर्देशनमा डेव्यु गर्ने भएका छन् । सोमबार उनले अभिनेता धिरज मगरलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै सिनेमा ‘मैझारो’ निर्माण तथा निर्देशनको घोषणा गरेका हुन् । सिनेमाको कथा समेत अभिनेता तथा निर्देशक राई आफैले लेखिरहेका छन् ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा ‘मैझारो’मा केही वर्ष अगामी रिलिज भएको सिनेमा ‘आप्पा’ निर्देशक तथा संगीतकार अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । यसअघि केही म्युजिक भिडियो र टेलिसिरियल निर्देशन गरेका विल्सन विक्रम राईको डेव्यु निर्देशकीय सिनेमालाई सौरभ लामाले खिच्ने छन् ।
निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ । सिनेमाको छायांकन इलाम र पाँचथरका रमणीय स्थानमा साउनको पहिलो हप्ताबाट हुनेछ । सामाजिक कथावस्तुमा आधारित सिनेमा ‘मैझारो’ले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा निर्माण हुनेछ ।
तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन् । यही पृष्ठभूमिमा निर्माण हुन लागेको सिनेमा ‘मैझारो’प्रति दर्शकमा उत्साह देखिएको छ । उनी लोकप्रिय हास्य टेलिसिनेमा ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए । विल्सन विक्रम राई अभिनयसहित गायन र संगीतकारका रुपमा पनि सक्रिय छन् ।


प्रतिक्रिया