द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् । विराज भट्टको निर्देशनमा निर्माण भएको ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर सिनेमाबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी उनले नाटक ‘शिरीषको फूल’बाट रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन् । उनको अभिनय रहेको अर्को सिनेमा नरसिंहाः अवतार गत महिना रिलिज भएको थियो ।
कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले आगामी साउन १ मा मञ्चन गर्न लागेको यो नाटकमा सनिशाले ‘सकम्बरी’ पात्रको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रंगमञ्चको यात्रा सुरु गर्न सनिशा उत्साहित देखिएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म्युजिक भिडियो र सिनेमाको कलाकारिता हुँदै ‘शिरीषको फूल’मार्फत रंगमञ्चको स्टेजमा नयाँ यात्राको अनुभव सुरु गर्न जाँदैछु । ‘शिरीषको फूल’को पात्र ‘सकम्बरी’ मेरो लागि विशेष हुनेछ ।’ नाटक ‘शिरीषको फूल’मा सनिशाले कुनै समयका चर्चित अभिनेता जीवन लुईंटेलसँग मञ्च सेयर गर्नेछिन् ।
जीवन पनि यही नाटकबाट एक दशकपछि अभिनयमा फर्किन लागेका हुन् । यसमा उनले सुयोगवीर पात्रको भूमिका निर्वाह गर्नेछन् । हाल अमेरिकामा रहेका जीवन नाटक खेल्न आगामी साता नेपाल आउने जनाइएको छ । यतिबेला सनिशासहितको टिम नाटकको कार्यशालामा व्यस्त छ । पहिलो सिनेमाबाटै लोभलाग्दो सफलता पाएकी सनिशाको रंगमञ्च यात्रा कस्तो होला ? त्यो प्रतिक्षा दर्शकलाई छ ।



प्रतिक्रिया