द सिनेमा टाइम्स, काठमाडौं । असार २७ गते भोली शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘यो मन त मेरो नेपाली हो’ प्रिमियर शो सम्पन्न भएको छ । देशभक्तिपूर्ण भावनाको कथावस्तुमा आधारित यो सिनेमाको बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमियर शोमा सिनेमाकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेका थियो ।
सिनेमाको प्रिमियर शोमा सिनेमा हेरेका अधिकांश पाहुनाले कथावस्तुको प्रशंसा गरेका छन् । निर्देशक तुलसी घिमिरेले सिनेमाले नेपाली भाषाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताए । सिनेमाले अहिलेको पुस्तालाई नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको निर्देशक घिमिरेको भनाई छ । कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा र नेपाली भाषाको महत्त्व बुझाउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ सम्पूर्ण नेपालीले हेर्नै पर्ने सिनेमा भएको बताए ।
निर्देशक अशोक शर्माले देशभक्ति कथावस्तुमा सिनेमा निर्माण गर्ने आँट गर्नु नै ठूलो कुरा रहेको बताए । उनले सिनेमाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् । लोकगायिका ज्योति मगरले हरेक नेपालीले हेर्नुपर्ने सिनेमा बनेको भन्दै यसको विषयवस्तुको प्रशंसा गरिन् । सञ्चारकर्मी सुशील नेपालले सिनेमाको कथावस्तु सान्दर्भिक रहेको बताउँदै यस्ता सिनेमालाई राज्यले पूर्ण कर छुट दिनुपर्ने बताए ।
यो सिनेमाको प्रिमियर शोमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, निर्देशकहरू राजेन्द्र सलभ, ऋषि लामिछाने, सशस्त्र प्रहरीका महानिरीक्षक वंशीराज दाहाल, पत्रकार टीकाराम यात्री, गायक बद्री पंगेनी, गायिका राधिका हमाल, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, पूर्व सभासद महेन्द्र लिम्बू लगायतको पनि उपस्थिति रहेको थियो ।
मित्र प्रधान (नर)को निर्देशनमा निर्माण भएको ‘यो मन त मेरो नेपाली हो’मा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् । ज्ञान बहादुर प्रधान (रोशन)को निर्माण रहेको यो सिनेमाले नेपाली भाषा, कला, संस्कृति बचाउनुपर्ने कथावस्तुमा आधारित छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिष शाहको सम्पादन रहेको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको सिनेमामा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।


प्रतिक्रिया