द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । सिनेमाकी निर्मात्री बिष्णुमाया मैनाली र वितरक कम्पनीहरूबीच बिहीबार भएको सम्झौतापछि सिनेमालाई यो मितिमा प्रदर्शन गर्ने फाइनल गरिएको हो ।
सिनेमालाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । यो सिनेमामा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा ,पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, प्रियंका झा, बिना राउत लगायतको अभिनय रहेको छ । सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ ।
गायक अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ हो । यो गीतले उनको जीवन नै परिवर्तन गरेको थियो । सात वर्ष अगाडि रिलिज भएको यो गीतलाई युट्युबमा झन्डै तीन करोडले हेरिसकेका छन् । बाल्यकालदेखि नै संगीतकार बुढाथोकीको संरक्षणमा रहेका उनी यतिबेला काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । सिनेमा ‘मन बिनाको धन’ अशोककै जीवनकथामा बनेको जनाइएको छ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमाको निर्मातामा बिष्णुमाया मैनाली तथा सह-निर्मातामा जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे र कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । सिनेमामा टंक स्वयंको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन छ ।


प्रतिक्रिया