द सिनेमा टाइम्स, काठमाडौं । रुपेश तामाङको निर्देशनमा निर्माण हुने एक्सन सिनेमाको टाइटल ‘एक्का तीन’ राखिएको छ । गतवर्ष प्रदर्शनमा आएको ‘दान्भी’पछि गत महिना अभिनेत्री पुजा शर्माको जन्मदिनमा निर्माण घोषणा गरिएको सिनेमाको टाइटल ‘एक्का तीन’ राखिएको शुक्रबार एक थिम पोस्टर मार्फत् जानकारी दिइएको हो ।
सुमन गजमेरको लेखन रहने यो सिनेमालाई सन् २०२६ मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । सिनेमाको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।
सार्वजनिक पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । सिनेमाको मुख्य भूमिकामा अभिनेत्री पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । तर, अन्य मुख्य पात्रहरुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन । ‘एक्का तीन-च्याप्टर १’ भनिएकाले पनि यो सिनेमाको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ ।
हाल सिनेमाको प्रि-प्रोडक्सनको काम धमाधम चलिरहेको छ । सिनेमाको छायांकन चाँडै नै सुरु हुनेछ । यसपटक सिनेमामा एक्सन, सस्पेन्स र बलियो कथा रहेको रुपेशको भनाई छ । आफूले यसअघिका सिनेमामा गरेका कमीकमजोरीलाई समेत सच्याएर यो सिनेमा निर्देशन गर्ने रुपेश बताउँछन् ।



प्रतिक्रिया