द सिनेमा टाइम्स, काठमाडौं । भदौ पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘जदौ’मा अभिनेत्री ऋचा शर्मा र अभिनेता विनोद न्यौपाने पनि अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिका रहने ऋचासँगै निर्माण टिमले केही दिन पहिले नै लिखित सम्झौता गरेपनि विनोदसँग हिजो बिहीबार सम्झौता गरिएको हो ।
सिनेमाको मुख्य भूमिकामा नीति शाह र मुकुन भुषाल पनि अनुबन्धित भैसकेका छन् । सिनेमामा नीति र विनोदको भूमिका कस्तो रहने भन्ने नखुले पनि ऋचा र मुकुन भने जोडीको रुपमा देखिने जानकारी निर्माण टिमले दिएको छ । निर्माण टिमका अनुसार अभिनेत्री शर्मा यो सिनेमामा अहिलेसम्मकै फरक भूमिकामा देखिनेछिन् ।
नेपाली सिनेमामा जस्तोसुकै भूमिकामा पनि आफुलाई अब्बलताका साथ प्रस्तुत गर्न सक्ने क्षमतायुक्त अभिनेता बिनोदले ‘जदौ’को हिस्सा बन्न पाउदा खुशी व्यक्त गरेका छन् । अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण हुने सामाजीक सिनेमामा काजी लिम्बुको कथा लेखन रहेको छ ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टका संयुक्त व्यानरमा निर्माण हुने सिनेमाको सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको सिनेमाको छायांकन दाङ र प्युठानका विभिन्न स्थानमा हुनेछ । बाबुल गिरीको संगीत रहने सिनेमाका निर्देशक, बाँकी कलाकार र प्राविधीक केही दिनमा सार्वजनिक गरिने विमला भण्डारीले बताइन् ।


प्रतिक्रिया