द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा सिनेमा ‘मुनामदनको ब्रेकअप’को निर्माण घोषणा भएको छ । फोटो पत्रकार श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमाको पटकथा समीक्षक तथा लेखक सामीप्यराज तिमल्सेना लेखेका हुन् ।
अभिनेता विपिन कार्की र अभिनेत्रीद्धय सुरक्षा पन्त र वर्षा राउतको मुख्य भूमिका रहेको २०७५ सालमा प्रदर्शनमा आएको ‘गोपी’पछि पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच फेरि सहकार्य हुन लागेको हो । सिनेमामा अभिनय गर्ने कलाकारमा अहिलेसम्म राज कटवाल मात्र फाइनल भएका छन् । कटवालले पछिल्लोपटक सिनेमा ‘नरसिंहाः अवतार’मा अभिनय गरेका थिए ।
निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ । ‘सिनेमाको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ,’ लामाले भने । डेब्यू निर्देशकीय सिनेमा ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म ६ वटा सिनेमा निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई एक मनोरञ्जक सिनेमाका रुपमा निर्माण गर्ने सोचमा छन् ।
सिनेमामा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने लेखक तिमल्सेनाले गराए । ‘पछिल्लो समय नेपाली सिनेमामा हेरिँदै आएकाभन्दा भिन्न स्वभावका प्रेमकथा यसमा प्रस्तुत गरिनेछ,’ तिमल्सेनाले भने, ‘अहिले दर्शकलाई हलसम्म तान्न धेरै नै मुश्किल छ । त्यसकारण पटकथामा सक्दो मिहेनत गर्नेछौं ।’
अभिनेता राज कटवाल ‘मुनामदनको ब्रेकअप’लाई लिएर आफू एकदमै उत्साही भएको बताउँछन् । ‘अघिल्ला सिनेमाहरुमा भन्दा यसमा थप परिष्कृत देखिन मैले आफूलाई निखार्न खोज्दैछु,’ कटवालले बताए । सिनेमाको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको उनको बुझाई छ ।
सिनेमाका कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा सिनेमाको छायांकन गरिने बताए । ‘पटकथा र प्रि–प्रोडक्सनको काम पर्फेक्ट भएपछि मात्र छायांकनमा निस्किनेछौं । हामी राम्रो प्रोडक्ट निकाल्न धैर्यका साथ काम गर्नेछौं,’ उनले भने ।


प्रतिक्रिया