द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विल्सन विक्रम राई (तक्मे बुढा)को डेव्यु निर्देशन रहने सिनेमा ‘मैझारो’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छन् । निर्माण टिम र अभिनेत्री पुनबीच शनिबार औपचारिक रुपमा लिखित सम्झौता भएको हो । साउन पहिलो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमा हाल वर्कसप चलिरहेको छ ।
यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर अनुबन्धित भैसकेका छन् । उनीहरु अहिले काठमाडौंमा चलिरहेको सिनेमाको वर्कसपमा समेत सहभागी छन् । दीयाले पनि आज आइतबारबाट सिनेमाको वर्कसप सुरु गरेको निर्माण टिमले जानकारी दिएको हो ।
यो सिनेमामा धिरज, मिरुना र दिया वाहेक अन्य कलाकारको नाम फाइनल भइनसकेको निर्माण पक्षले जनाएको छ । केही दिनभित्रै बाँकी कलाकारको टुंगो लाग्ने छ । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा उठान गरेको छ । सिनेमाको छायांकन इलाम र पाँचथरका रमणीय स्थानमा गरिने छ ।
अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत, राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङको स्वर रहने सिनेमालाई सौरभ लामाले खिच्ने छन् ।
तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन् । यही पृष्ठभूमिमा निर्माण हुन लागेको सिनेमा ‘मैझारो’प्रति दर्शकमा उत्साह देखिएको छ । उनी लोकप्रिय हास्य टेलिसिनेमा ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए । विल्सन विक्रम राई अभिनयसहित गायन र संगीतकारका रुपमा पनि सक्रिय छन् ।


प्रतिक्रिया