द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण हुने सिनेमा ‘सुम्निमा’मा मोडल तथा अभिनेता कुन्साङ बमजन अनुबन्धित भएका छन् । आइतबार निर्देशक चाम्सले कुन्साङलाई सिनेमाको मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् ।
गत वर्षको सुपरहिट सिनेमा ‘अञ्जिला’पछि निर्देशक चाम्सले अभिनेत्री उपासना सिंह ठकुरीलाई लिएर केही समय अगाडी ‘सुम्निमा’ निर्माण घोषणा गरेका थिए । निर्देशक चाम्सका अनुसार यूनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै ‘सुम्निमा’ बनाइनेछ । यो सिनेमामा उपासनाको जोडी कुन्साङसँग बाँधिने भएको छ । उपासना कुन्साङबीच पहिलोपटक सहकार्य हुन लागेको हो ।
कुन्साङले निर्देशक मिलन चाम्सको सिनेमामा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको बताए । सिनेमाको पात्रलाई न्याय गर्न आफूले कुनै कसर नछाड्ने उनको अठोट छ । अभियको हिसाबले ‘सुम्निमा’ उनको दोस्रो सिनेमा हुनेछ । गत वर्ष प्रदर्शन भएको सिनेमा ‘दान्भी’बाट डेब्यु गरेका उनले दुई दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनी मोडलिङ पृष्ठभूमिबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन् ।
गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुन लागेको यो सिनेमा प्रेमकथामा आधारित हुने जनाइएको छ । राजीव थापाको लेखन रहेको सिनेमाको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ ।


प्रतिक्रिया