द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको सिनेमा ‘अभिमन्यु’को पोस्टर सार्वजनिक गरिएको छ । आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको नीलो रंगमा तयार पारिएको पोस्टरमा कामेश्वर विराटनगर जिल्ला कारागार अगाडि चिच्याएको अवस्थामा देखिएका छन् ।
सार्वजनिक क्यारेक्टर पोस्टमा कामेश्वरको अगाडि रातो डफल ब्याग छ । कारागारको छेउ, अगाडि डफल ब्याग अनि कामेश्वरको एक्सप्रेसनले उनी कि फिरौती रकम तिर्दैछन् कि उठाउँदैछन् भन्ने अनुमान लगाउन सकिन्छ । त्यसो नभएको खण्डमा उनी कारागारबाट मुक्त भएपछि खुसीले चिच्याएको हुनसक्ने पनि अनुमान पोस्टरबाट लगाउन सकिन्छ ।
सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको निर्माण रहेको सिनेमामा कामेश्वरसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ ।
पैसाको प्रलोभनले चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा फिल्म बनेको जनाइएको छ । यो सिनेमा नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ । असोज ६ गतेलाई हिन्दी भर्सनको प्रदर्शन मिति तय गरिएको छ ।
सुशान्त गौतमको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा मुकेश खनालको लेखन, शरद महतोको डीओपी तथा मदन घिमिरे सम्पादन रहेको छ । सिनेमाको निर्माणमा विनोदलाई गुञ्जन गिरीले सघाएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतीमा निर्माण भएको सिनेमाको सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ रहेका छन् ।



प्रतिक्रिया