द सिनेमा टाइम्स, काठमाडौं । आगामी वडादशैंको फूलपातीको रिलिज हुने सिनेमा ‘बलिदान’को विशाल साइजको पोस्टर सार्वजनिक गरिएको छ । यो सिनेमाको ६० फिट अग्लो र १६ फिट चौडाइको पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राखिएको हो । यो पोस्टरले सिनेमाको भाव, शैली र उद्देश्यको स्पष्ट चित्र प्रस्तुत गर्दै दर्शकको ध्यान खिच्न सफल हुने विश्वास निर्माण टिमको छ ।
यो पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ । पोस्टरमा समावेश दृश्यले सिनेमाको द्वन्द्वात्मक स्वभाव र गहिरो देशभक्तिपूर्ण सन्देश झल्काउँछ ।
यो पोस्टर सार्वजनिकसँगै निर्देशक सन्तोष सेनले एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात भएको बताए । उनले भनेका छन्, ‘बलिदान एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात हो । विभिन्न चरणको छायांकन, सम्पादन र सृजनात्मक परिश्रमपछि गर्वका साथ भन्न सक्छौं, बलिदान सिनेमा नभई एउटा अभियान बनिसकेकाले यो ज्यान बलिदान । सुरुदेखि अन्त्यसम्म पटक पटक हेरिएका दृश्यहरू, सूक्ष्म कुरामा दिएको ध्यान र हरेक फ्रेममा हालिएको आत्माले यसलाई मजबुत सिनेम्याटिक संरचना बनाएको छ ।’
निर्देशक सेनका अनुसार ‘बलिदान’ विदेशी सिनेमाको भीडमा पनि आत्मवल, गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले फरक पहिचान कायम गर्ने तयारीमा छ । उनले सिनेमालाई गाउँ–सहर, टोल–बस्ती हुँदै हरेक दर्शकको मनसम्म पुर्याउने लक्ष्य लिएको उल्लेख गर्दै ‘बलिदान ब्यानर’ मार्फत देशव्यापी प्रचार-प्रसार यात्रा सुरु गरिएको जनाए ।
सिनेमाको यसअघि सार्वजनिक गरिएको पोस्टरमा अभिनेता सौगात मल्ल एक सशक्त र रहस्यमय अवतारमा प्रस्तुत थिए । सिनेमाको मुख्य अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको प्रि–टिजरले निकै चर्चा पाएको थियो । यो सिनेमा घोषणादेखि हालसम्म सार्वजनिक गरिएका समीर भट्ट र अभिनेत्री कविता रायका पात्र परिचय दिने पोस्टरले पनि उत्तिकै चर्चा पाएका थिए ।
आसुसेन फिल्मस् प्रालिको प्रस्तुति रहेको ‘बलिदान’मा समीर, सौगात, कवितासहित अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ । सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता प्रेम पुरी हुन् ।


प्रतिक्रिया