द सिनेमा टाइम्स, काठमाडौं । काजी लिम्बू र अञ्जन शर्माले संयुक्त रुपमा निर्देशन गर्ने सिनेमा ‘जदौ’को औपचारिक निर्माण घोषणा गरिएको छ । जातीय भेदभाव र छुवाछूतको कथामा निर्माण हुने सिनेमाको बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच टिमको परिचय गराउँदै निर्देशकबारे पनि जानकारी दिइयो ।
यसअघि सिनेमामा अनुबन्धित भएका कलाकारको बारेमा जानकारी दिइएको भएपनि निर्माण पक्षले निर्देशकको नाम गोप्य राखेको थियो ।
आगामी भदौ पहिलो साताबाट छायांकनको तयारी गरिएको ‘जदौ’को घोषणा कार्यक्रममा कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले सिनेमामा समावेश हुने एउटा गीतको स्थायी वाचन गरेका थिए । जसमा मान्छेले मान्छेलाई नै किन भेदभाव गर्छ भन्ने भाव प्रस्तुत गरिएको थियो ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने सिनेमामा नीतिको जोडी प्रभातपलसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । मुकुनले भने अभिनेत्री ऋचा शर्माको जोडी भएर अभिनय गर्नेछन् । अहिले ऋचा अमेरिकामा रहेकाले सिनेमाको घोषणा कार्यक्रममा उपस्थित हुन सकिनन् । डेव्यु निर्देशक लिम्बूले गीतको यही भावमा सिनेमा निर्माण हुने बताए ।
सिनेमामा अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतको पनि अभिनय रहने छ । सिनेमाको सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा छन् । श्याम तामाङले खिच्ने सिनेमाका गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत रहनेछ ।
सिनेमाको निर्माण घोषणा कार्यक्रममा सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘जदौ’ले सामाजिक छुवाछूत र भेदभाव निर्मूल गर्न आवाज बुलन्द पार्ने बताइन् । यो सिनेमाले नेपाली समाजमा अहिले पनि व्याप्त जातीय विभेदका विविध घटनाबाट प्रेरित रहेको निर्माण टिमले जनाएको छ । सिनेमाका लागि अझै पनि केही कलाकार छनोटको क्रममा रहेको पनि सिनेमाको निर्माण टिमले बिहीबार आयोजित कार्यक्रममा जानकारी दिएको थियो ।



प्रतिक्रिया