नाजिर र सृष्टिको ‘केटी हराएको सुचना’ बंगलादेशमा रिलिज

नाजिर र सृष्टिको ‘केटी हराएको सुचना’ बंगलादेशमा रिलिज

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘केटी हराएको सुचना’ बंगलादेशमा रिलिज भएको छ । पहिलो पटक नेपाली सिनेमा बंगलादेशमा रिलिज भएको हो । गत वर्षको माघ ११ गते नेपालमा रिलिज भएको यो सिनेमा आज शुक्रबारबाट बंगलादेशका हलमा प्रदर्शनमा आएको छ ।

दीपेन्द्र गौचनको निर्देशनमा निर्माण भएको सिनेमा बंगलादेशको मल्टीप्लेक्स चेन स्टार सिनेप्लेक्सको ढाकासहित अन्य सहरका हलमा प्रदर्शन गरिएको अनलाइन न्युज पोर्टल भ्यूज बंगलादेशले समाचार प्रकाशन गरेको छ । नेपाली र अंग्रेजी सबटाइटलमा रिलिज भएको यो सिनेमालाई बंगलादेशमा ‘शो मोसन लिमिटेड’ले ‘साउथ एसियन फ्रि ट्रेड एग्रिमेन्ट’ (साफ्टा) अन्तर्गत आयात गरेको हो ।

यही सम्झौता अनुसार तनीम रहमान अंशुद्वारा निर्देशित तथा सरीफुल रन र सुनेरा बिन्ते कमाल अभिनीत बंगलादेशी सिनेमा ‘नो दोराई’ नेपालका हलमा रिलिज गर्ने सहमति भएको पनि भ्यूज बंगलादेशले जनाएको छ । बंगलादेशमा प्रदर्शनअघि बिहीबार ‘केटी हराएको सूचना’को स्टार सिनेप्लेक्सको एयरपोर्ट शाखामा प्रिमियर शोको आयोजना गरिएको थियो । जहाँ सिनेमाका निर्देशक दीपेन्द्र गौचन र अभिनेता नाजीर हुसेन उपस्थित थिए ।

नेपालमा समीक्षात्मक रुपमा अब्बल ठरिएको यो सिनेमाको प्रिमियरका लागि बुधबार नाजीर बंगलादेशको राजधानी ढाका पुगेका थिए । उनी शुक्रबार बंगलादेशका दर्शकको प्रतिक्रिया बुझेर नेपाल फर्किने जनाइएको छ।

सिनेमामा नाजिरसहित सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी लगायतको अभिनय छ । अमितेष शाहको विशेष भूमिका रहेको सिनेमामा निर्देशक गौचन स्वयंको लेखन तथा निर्माण छ ।

एप्पल इन्टरटेनमेन्टका प्रमुख तथा क्यूएफएक्स सिनेमाजका निर्देशक नकिम उद्दिनको सिनेमा निर्माण कम्पनी ट्राई-सिटी पिक्चर्सले यो सिनेमा निर्माण गरेको हो । यो सिनेमाले मधेशी र पहाडीबीच हार्दिक सम्बन्धको कथा भन्ने प्रयत्न गरेका छ ।