राजन्द्र बस्नेतको निर्देशनमा ‘किस्ने कहाँ छ ?’ निर्माण घोषणा

राजन्द्र बस्नेतको निर्देशनमा ‘किस्ने कहाँ छ ?’ निर्माण घोषणा

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक राजन्द्र बस्नेतले नयाँ सिनेमा ‘किस्ने कहाँ छ ?’ निर्माण घोषणा गरेका छन् । शुक्रबार यो सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै कमेडी विद्यामा निर्माण हुने जानकारी दिइएको हो । जसले सिनेमाको कथावस्तु र परिवेशको संकेत गर्छ ।

सिनेमाको सार्वजनिक थिम पोस्टरले हिलो बाटोमा रोकिएको गाडी र बाटो मर्मत गरिरहेको व्यक्तिसँग संवाद गरिरहेको दृश्यले ग्रामीण परिवेश र दैनिक जीवनका यथार्थ झल्काउँछ । यसले यो सिनेमामा सामाजिक यथार्थ र कमेडी फ्लेवरको मिश्रण हुने सम्भावनालाई बल दिन्छ ।

सिनेमाको कथा, पटकथा र संवाद विनय राज पौडेलद्वारा लेखिएको हो । जसले कथावस्तुलाई गम्भीर सामाजिक पृष्ठभूमिमा आधारित बनाएर पनि कमेडी फ्लेवर पस्कन सक्ने अपेक्षा गर्न सकिन्छ । अहिले कलाकारको छनोट प्रक्रिया चलिरहेको छ । निर्देशकका अनुसार सिनेमाको छायांकन छिट्टै सुरु हुने तयारीमा छ ।

ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो सिनेमामा हेमन्त बस्नेतको लगानी रहनेछ । ईश्वर वल्लव उप्रेती कार्यकारी निर्माता रहेको ‘किस्ने कहाँ छ ?’ले नेपाली समाजका हाँसो लाग्दा तर सोचनीय पक्षलाई उजागर गर्ने उद्देश्यले निर्माण निर्माण गर्न लागिएको हो । पछिल्लो समय नेपाली सिनेमामा कमेडी विधाको माग बढिरहेको सन्दर्भमा यो सिनेमाले सामाजिक व्यङ्ग्य, ग्रामीण यथार्थ र मनोरञ्जनको समायोजन गर्न सक्ने विश्वास लिएको छ ।