‘होस्टेल अगेन’ घोषणा: थ्रिलरको स्वादमा ‘होस्टेल’ ब्रान्डको नयाँ अध्याय

‘होस्टेल अगेन’ घोषणा: थ्रिलरको स्वादमा ‘होस्टेल’ ब्रान्डको नयाँ अध्याय

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा नयाँ पुस्ताका कलाकारलाई स्थापित गर्दै आएको ‘होस्टेल’ शृङ्खलाको तेस्रो भागको सफलतापछि सोही टिमले ‘होस्टेल अगेन’को निर्माण घोषणा गरेको छ । निर्माण घोषणासँगै सिनेमाको मिनिमल पोस्टर सार्वजनिक गर्दै विषयवस्तुलाई प्रस्ट पार्न खोजिएको छ ।

सोमबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको मिनिमल पोस्टरमा रगतले लतपतिएको चक्कुले गुलाबको फूल थिचेको दृश्यले प्रेम र हिंसाको द्वन्द्व देखाउँछ । यसले पहिलेका टीनएज ड्रामाको सट्टा योपटक थ्रिलर वा सस्पेन्स विधातर्फ झुकेको संकेत गर्छ । ‘होस्टेल’को नाम भएपनि अगेन थपिनु र पोस्टरको प्रकृतिले ‘होस्टेल ३’बाट कथावस्तुको निरन्तरता नभई यसले फरक कथालाई प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ ।

सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्सको व्यानरमा निर्माण हुने ‘होस्टेल अगेन’लाई सशान कँडेलले निर्देशन गर्नेछन् । माधव शर्माको लेखन रहने सिनेमाका कार्यकारी निर्माता शंकर कोइराला हुन् । यो सिनेमाबाट पारस बम (कुलब्वाय), सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान लगायतका कलाकारले दर्शकमाझ आफ्नो पहिचान बनाएका थिए ।

यो सिनेमाले पनि नयाँ प्रतिभालाई जन्माउने अपेक्षा गरिएको छ । पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । ‘होस्टेल अगेन’ छायांकन छिट्टै सुरु हुने बताइएको छ । यसअघि यही समूहले ‘बाउ भर्सेज छोरा’ नामक सिनेमा पनि घोषणा गरेको थियो । यो सिनेमाका लागि सोचिएका कलाकारको व्यस्तताका कारण अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए ।