‘आ बाट आमा’मा सिमरन पन्त अनुबन्धित, पल शाहसँग जोडी बाँधिने

‘आ बाट आमा’मा सिमरन पन्त अनुबन्धित, पल शाहसँग जोडी बाँधिने

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘आ बाट आमा’मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई सोमबार आधिकारिक रूपमा अनुबन्ध गरेको हो । सिनेमामा सिमरनले अभिनेता पल शाहसँग जोडी बाँध्नेछिन्।

सिमरन पन्त यसअघि सफल सिनेमा ‘होस्टेल ३’मा देखिएकी थिइन्, जहाँ उनको अभिनयलाई समीक्षक र दर्शक दुवैले प्रशंसा गरेका थिए। ‘आ बाट आमा’ उनको दोस्रो सिनेमा हो।

यसअघि नै सिनेमामा अभिनेत्री विपना थापा, तेलुगु, हिन्दी र तमिल सिनेमाका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत निर्देशक पन्तकै सिनेमा ‘ह्रस्वदीर्घ’मा अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा देखिएका थिए। नयाँ सिनेमामा उनले पल शाहका बुबाको भूमिका निर्वाह गर्नेछन्।

निर्देशक चन्द्र पन्तले यसअघि ‘माही’ र ‘ह्रस्वदीर्घ’ निर्देशन गरिसकेका छन्। ‘ह्रस्वदीर्घ’ मार्फत अभिनेत्री विपना थापाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन् । अब उनी पुनः पन्तकै निर्देशनमा काम गर्न लागेकी हुन्।

आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यो सिनेमा आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ । निर्माता पक्षले अन्य कलाकार र प्राविधिक टिमलाई पनि चाँडै सार्वजनिक गर्ने बताएको छ। सिनेमाको थिम पोस्टर एक महिना अघि सार्वजनिक भइसकेको छ । निर्देशक पन्तका अनुसार सिनेमा आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ।