द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा दुर्लभ साइन्स फिक्सन विषयवस्तुमा आधारित सिनेमा ‘एक्लो’को केही विशेष दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरेर छायांकन गरिएको छ। निर्देशक प्रदीप शाहीको नेतृत्वमा तीन मिनेट लामो एक सट दृश्य खिच्न उच्च तयारी गरिएको थियो, जहाँ पाइलट विजय लामाको अगाडि जम्बीले सृजना गरेको सवारी दुर्घटना देखाइएको छ।
उक्त दृश्यमा अभिनेता विजय लामा र अभिनेत्री दिया पुनको सशक्त अभिनय देख्न पाइन्छ। भिडभाड, कार-साइकल दुर्घटना र कलाकारहरूको दौडधुपले दृश्यलाई निकै जीवन्त बनाइएको छ। निर्देशकका अनुसार दुई मिनेट लामो उक्त वान-सट खिच्न झण्डै ६ घण्टाको समय लागेको थियो। दृश्य बिग्रँदा बारम्बार ‘कट’ गर्दै नयाँ सट लिनु परेको थियो।
कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ले यस्तो दृश्य खिच्नका लागि उच्च योजना र धैर्य आवश्यक पर्ने बताए। ‘सानो गल्ती हुँदा पनि सबै प्रक्रिया सुरुबाट दोहोरिनुपर्ने हुँदा समय धेरै लाग्यो,’ उनले भने।
हलिउडस्तरको प्रविधि प्रयोग, लन्डनमा पोस्ट-प्रोडक्सन
सिनेमाका मुख्य अभिनेता प्रदीप खड्का हुन् भने अन्य कलाकारहरूमा विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, कविता नेपाली, दिनेश डीसी, सुरजसिंह ठकुरी, त्रिचु राई, एवन राज उप्रेती, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ, स्योन सविक सिंह र बेलायती अभिनेता जेमी बेकन छन्।
सिनेमाको पोस्ट-प्रोडक्सन कार्य हाल लन्डनमा भइरहेको छ। आगामी पुष महिनामा, क्रिसमसको अवसर पारेर विश्वव्यापी प्रदर्शनको तयारी भइरहेको छ। सिनेमाले यसअघि कान्स फिल्म फेस्टिभलको बजार क्षेत्र (मार्केट) मा उपस्थिति जनाइसकेको छ, जसले यसको अन्तर्राष्ट्रिय सम्भावनालाई पुष्टि गरेको छ।
प्राविधिक पक्ष सशक्त, निर्देशनमा प्रदीप शाही
सिनेमा ‘एक्लो’को निर्देशन प्रदीप शाहीले गरेका हुन्, जसले यसअघि दुई सिनेमा निर्देशन गरिसकेका छन्। लामो समयदेखि बेलायतमा बस्दै आएका शाहीले यो सिनेमालाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेका छन्।
सिनेमाको छायांकन बाबु श्रेष्ठले, द्वन्द्व निर्देशन राजु तामाङले, सेट डिजाईन राजु पेन्टरले, कला निर्देशन सन्तोष लामाले र प्रोडक्सन डिजाईन द्रोण प्रसाद पौडेल ‘ठेउके’ले गरेका छन्।
‘एक्लो’ साइन्स फिक्सन कथावस्तुमा आधारित नेपाली सिनेमाको ठूलो कदम
नेपाली सिनेमा उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय सिनेमाका रूपमा ‘एक्लो’लाई महत्त्वपूर्ण परियोजनाको रूपमा हेरिएको छ। प्राविधिक तयारी, कलाकारको अभिनय र अन्तर्राष्ट्रियस्तरको निर्माण शैलीले गर्दा यो सिनेमाले नेपाली सिनेमामा नयाँ उचाइ दिन सक्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया