द सिनेमा टाइम्स, काठमाडौं । तिहारको रौनकसँगै नेपाली रोमान्टिक ड्रामा सिनेमा ‘जेरी अन टप’ आउने भएको छ। निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति तोकेर सिनेमाको फर्स्टलूक पोस्टर सार्वजनिक गरेको हो। एकै साथ सार्वजनिक तीन पोस्टरहरूमा अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङलाई फरक-फरक शैलीमा देखाइएको छ।
पोस्टरले सिनेमामा त्रिकोणात्मक प्रेमकथा रहने संकेत गर्छ। एउटामा अनमोल र जसिता हिमाल आरोहीको गेटअपमा देखिएका छन् भने अर्कोमा अनमोल, आँचल र जसिता रोमान्टिक मुद्रामा देखिन्छन्।
सुयोग गुरुङको निर्देशनमा बनेको सिनेमामा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, सुरक्षा पन्त र उषा खड्कीको पनि महत्वपूर्ण भूमिका रहनेछ। विशेष कुरा के छ भने, अनमोलको बुवाको भूमिकामा आफ्नै पिता भुवन केसी देखिँदै छन्।
निर्माता सरोज न्यौपानेले सार्वजनिक पोस्टर सिनेमा प्रचारको सुरुवातमात्र भएको र आगामी दिनहरूमा सिनेमाका अन्य सरप्राइजहरू खुल्दै जाने जानकारी दिएका छन्। सगरमाथा बेसक्याम्प, काठमाडौं र मुस्ताङ जस्ता लोकेसनमा छायांकन गरिएको सिनेमाका केही दृश्य करिब एक करोड लागतमा बनाइएको सेटमा खिचिएको हो।
सिनेमाको कथा हेमराज बिसीको रहेको छ भने पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्। दुलिप रेग्मीको छायांकनमा बनेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत रहेको छ।
हङकङस्थित एलजी एसोसिएट्सले फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्।
सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । तिहारमा प्रेम, रोमाञ्स र हिमाली साहसिकताको मजा लिन चाहने दर्शकका लागि ‘जेरी अन टप’ प्रतीक्षा गर्न लायकको सिनेमा बन्ने संकेत पोस्टरबाट मिलेको छ।



प्रतिक्रिया