द सिनेमा टाइम्स, काठमाडौं । जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यो सिनेमामा उनको प्रवेशसँगै अभिनेता दयाहाङ राईसँग पुनः एक पटक स्क्रिन सेयर गर्ने भएका हुन् । यो सँगै यी दुईको सुपरहिट जोडीलाई एकपटक फेरि सिनेमामा हेर्न पाइने भएको हो ।
शुक्रबार निर्माण टिमले एक पोस्टमार्फत सिनेमामा सौगात अनुबन्धित भएको जानकारी गराएपछि उनीहरुको जोडी पर्दामा हेर्न दर्शक उत्सुक देखिएका छन् । दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने केही महिनाअघि नै यो सिनेमाको अनुबन्ध भइसकेका छन् । तेरियाले यही सिनेमाबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् ।
आदिवासी जनजाति समुदायमा प्रचलित मितेरी साइनोको कथामा निर्माण हुन लागेको सिनेमामा दयाहाङ र सौगात मितको भूमिकामा हुने जनाइएको छ । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमामा महेश राईको स्क्रिप्ट लेखन रहेको छ । अनिल र जनकले यसअघि सिनेमा ‘घरज्वाइँ’मा पहिलो पटक सहकार्य गरेका थिए । जुन व्यावसायिक रुपमा सफल भएको थियो । यसमा दयाहाङ नै मुख्य भूमिकामा थिए ।
जिएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको छायांकन मंसिरदेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा गरिने जनाइएको छ । शिशिर बिशङ्खेको छायांकन रहने सिनेमाको प्रदर्शन मिति यही वर्षको चैत २७ गतेलाई घोषणा भइसकेको छ ।


प्रतिक्रिया