द सिनेमा टाइम्स, काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । सिनेमाकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ ।
मंसिर १२ गते रिलिज हुने सिनेमाको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । आफ्नो बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ ….।
पहिलो झलक भन्दै निर्माणपक्षले निलो पृष्ठभूमीमा सिनेमाका मुख्य तीन कलाकारलाई प्रस्तुत गरेको छ । पहिलो झलकमा बेनिशासँगै अपर्ण थापा र श्रृष्टि श्रेष्ठ छन् । तीनै जना तनावपूर्ण भावमा छन् । एंग्री लुक्समा रहेकी सृष्ठि श्रेष्ठको हातमा आलो रगत लतपतिएको बन्चरो छ । उनले भर्खरै बन्चरो कसैमाथि प्रहार गरेको अनुमान लगाउन सकिन्छ ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको सिनेमा ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । सिनेमाको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
बलिराम चौहान (ग्याट्स्वी) निर्माता रहेको ‘द ब्ल्यू लाइट’को सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन् । सिनेमाको छायांकन मैनालीले नै गरेका हुन् ।


प्रतिक्रिया