क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित ‘क्याप्टेन साब को छायांकन सुरु

क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित ‘क्याप्टेन साब को छायांकन सुरु

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ। शनिबारबाट काभ्रेपलाञ्चोकको ढुंखर्क, बेथानचोक क्षेत्रमा छायांकन कार्य प्रारम्भ गरिएको हो।

यसअघि असार २६ गते काठमाडौंको गौरीघाटमा सिनेमाको शुभमुहूर्त सम्पन्न गरिएको थियो। सिनेमाको छायांकन काठमाडौं, चितवन, काभ्रे र वीरगञ्जमा गरिने बताइएको छ। छायाँकारका रूपमा कृष्णबहादुर थापा संलग्न छन्।

‘क्याप्टेन साब’ पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो। सिनेमा उनको संस्मरणात्मक कृति ‘इन्टु द फायर’ (बारुदमाथि उड्दा) मा आधारित भएपनि निर्देशक खनालले कथामा सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक स्वरूपमा निर्माण गरिने जानकारी दिएका छन्।

कलाकारहरूमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली प्रमुख भूमिकामा देखिनेछन्। निर्देशक खनालले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई सँगै अभिनय गराएका थिए। त्यसयता यी तीन कलाकार एउटै सिनेमामा देखिन लागेको यो पहिलोपटक हो।

पटकथा प्रोडक्सनको प्रस्तुति, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको संयुक्त रूपमा रहेको छ। निर्माता दीपेन्द्र के खनाल, करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् भने कार्यकारी निर्माता सिर्जना नापित हुन्।

सिनेमाको निर्माण टिममा सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) पोस्टर तथा प्रचार डिजाइनमा, एकी थेक्पा प्रोडक्सन डिजाइर, र रोहित राज गौतम तथा बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरको रूपमा रहेका छन्।

निर्देशक खनालका अनुसार ‘क्याप्टेन साब’ नेपाली सिनेमामा फरक स्वादको कथावस्तु र दृष्टिकोण बोकेको सिनेमा हुनेछ, जसले एक पाइलटको संघर्ष, साहस र प्रेरणादायी जीवन यात्रालाई पर्दामा उतार्नेछ।