द सिनेमा टाइम्स, काठमाडौं । अष्ट्रेलियन स्थायी बसोबास (पीआर)का लागि नेपाली विद्यार्थीले गर्ने संघर्षको कथामा आधारित सिनेमा ‘पीआर’को अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर आयोजना हुने भएको छ। निर्माण टिमले सिड्नी र न्यू क्यासल गरी दुई सहरमा सिनेमाको विशेष प्रिमियर कार्यक्रमको तयारी गरेको हो।
सिनेमाको पहिलो प्रिमियर आउँदो अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा आयोजना हुनेछ। दोस्रो प्रिमियर भने अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमामा गरिने जनाइएको छ।
आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा सिनेमा अष्ट्रेलियामा प्रदर्शनमा आउन लागेको हो। शोभित बस्नेत निर्देशित यस सिनेमाले विदेशिएका नेपाली युवाको सपना, संघर्ष र वास्तविकताको कथा भन्ने लक्ष्य राखेको छ।
सिनेमामा वरिष्ठ कलाकार नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का लगायत दिक्पाल कार्की, उत्तम केसी, आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी, नवीन घायल लगायतको अभिनय रहेको छ।
निर्मातामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा छन्। फिल्मको कथा निर्देशक बस्नेत स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्। सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन, बन्दे प्रसादको सम्पादन तथा मानस राज र भीम बीसीको संगीत सिनेमामा रहेको छ।
गत महिना सार्वजनिक गरिएको टिजरले राम्रो उत्साह बटुलेको सिनेमा ‘पीआर’ले नेपाली विद्यार्थीको पीडादायी प्रवास कथा दर्शकमाझ प्रभावशाली ढंगले ल्याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया