द सिनेमा टाइम्स, काठमाडौं । नेपाली गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा आधारित कथानक सिनेमा ‘जनक्रान्ति’ निर्माण घोषणा गरिएको छ । यो सिनेमाको पहिलो पोस्टर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका छन्।
पोस्टर सार्वजनिक गर्दै प्रचण्डले भने, ‘जनक्रान्ति सिनेमाले गणतन्त्र स्थापनाको लागि गरिएको संघर्ष र त्यसपछिको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनको सन्देश नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुर्याउनेछ।’ उनले युवा पुस्ताले विगतका आन्दोलन र समाजको अवस्थाबारे जान्न आवश्यक रहेको समेत उल्लेख गरेका थिए ।
रुद्राक्ष फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो सिनेमाको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्। सिनेमा आगामी भदौ दोस्रो सातादेखि छायांकनमा जानेछ भने प्रदर्शन मिति २०८१ सालको फागुन १ गते तय गरिएको निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए।
निर्देशक तिमिल्सिनाका अनुसार सिनेमामा देशभर विभिन्न समयमा भएका आन्दोलनहरू समेटिनेछन्, जसले नेपालको गणतान्त्रिक इतिहासलाई चित्रण गर्नेछ। सत्य घटनामा आधारित यस सिनेमालाई विशेषगरी नयाँ पुस्तालाई नेपालका राजनीतिक परिवर्तनको सन्दर्भमा जानकारी दिने उद्देश्यले निर्माण गरिन लागेको बताइएको छ।
‘जनक्रान्ति’को छायांकन देशका महत्वपूर्ण ऐतिहासिक स्थलहरू रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया, धनकुटा, खोटाङ, भोजपुर र सर्लाहीमा हुने निर्माण पक्षले जनाएको छ ।



प्रतिक्रिया