द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् साउन १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रियाल रिङ्गेट’को गीत ‘आमा’ सार्वजनिक भएको छ । आइतबार सार्वजनिक यो गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको पीडा र मनोदशालाई मर्मस्पर्शी ढंङले प्रस्तुत गरेको छ ।
यो गीतमा गायक रामचन्द्र काफ्लेले आवाज दिएका छन् । मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द रहेको गीतमा संगीत स्वयं काफ्ले अनि एरेञ्ज तथा मिक्सिङ-मास्टरिङ किरण तुलाधरले गरेका हुन् । सिनेमाको ‘रियाल रिङ्गेट’ नाम नै प्रतीकात्मक छ । बिभोर पोखरेलले निर्देशन गरेको यो सिनेमाका निर्माता गगनलाल प्रधान हुन् ।
सिनेमामा प्रमोद चौलागाई, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतका कलाकारको अभिनय छ । सिनेमाको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको यो सिनेमाको छायांन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो । सिनेमालाई काफिया फिल्म्सले वितरण गर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीहरूको कथा बोकेको यो चलचित्र र यसको गीत ‘आमा’ ले दर्शकको मन छुनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ।


प्रतिक्रिया