द सिनेमा टाइम्स, काठमाडौं । चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ । निर्माण टिमले आज सोमबारको दिन पारी सिनेमा ‘क का कि की’को थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माण बारे घोषणा गरेको हो ।
पोस्टर अनुसार सिनेमामा चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ । यता, कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतको पनि विशेष भूमिका रहनेछ।
घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, सिनेमाको टाइटल र निर्माण टिमको जनरा अनुसार यो सिनेमापुर्ण कमेडी शैलिमा निर्माण हुनेछ । यो सिनेमाको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईंले संयुक्त रूपमा गर्नेछन्। यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो ।
माया इन्टरटेनमेन्ट स्टुडियोको ब्यानरमा निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस सिनेमाको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, बिकाश अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ। छायांकन निर्देशक (डीओपी) सुदिप बराल रहनेछन्। सिनेमाको थिमपोस्टर रोयल भिमसेनले तयार गरेका हुन् ।
सिनेमाको वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिज इन्टरनेशनलले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन्। हाल टेलिभिजनमा निकै लोकप्रिय ‘कमेडी दरबार’ सञ्चालन गरिरहेको निर्देशक अग्रवालको टिमको यो पहिलो प्रोजेक्ट हो।
निर्देशक अग्रवालका अनुसार सिनेमाको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट प्रारम्भ हुनेछ। सिनेमाको बजेट र प्रदर्शन मिति हाल खुलाइएको छैन । सोमबार सार्वजनिक सिनेमाको पोस्टर फोटोग्राफर केशव पाण्डे हुन् ।
सिनेमाको घोषणापछि निर्देशक बिक्की अग्रवालले भने, ‘आफ्नो सिनेमा करिअरको सुरुआत नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छु । ‘क का कि की’को यस यात्रामा हामीलाई विश्वास छ कि सम्पूर्ण दर्शकहरूको साथ फेरि पनि प्राप्त हुनेछ । हाम्रो टिम ‘कमेडी दरबार’को एउटै उद्देश्य अब टेलिभिजनसँगै हलहरूमा पनि तपाईंहरूको हाँसो ल्याउनु हो।’



प्रतिक्रिया