भदौ २७ गते रिलिज हुने ‘अभिमन्यु’का दुई नयाँ पोस्टर सार्वजनिक

भदौ २७ गते रिलिज हुने ‘अभिमन्यु’का दुई नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको निर्माणमा तयार भएको सिनेमा ‘अभिमन्यु’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले सिनेमाको भावनात्मक र रहस्यमय पाटोलाई प्रभावकारी ढंगले उजागर गरेको देखिन्छ ।

पहिलो पोस्टरमा अभिनेता कामेश्वर चौरासिया र लक्ष्मी बर्देवालाई देखाइएको छ, जहाँ उनीहरू मन्दिरमा आरती सल्काउँदै छन् । उनीहरूको अनुहारमा झल्किएको खुसीले आपसी प्रेमको झल्को दिन्छ ।

दोस्रो पोस्टरमा भने कथा मोडिएको देखिन्छ । यसमा प्रकाश दाहाल, गौमाया गुरुङ, सरिता गिरी लगायतका कलाकारहरू तनावपूर्ण मुद्रामा प्रस्तुत छन् । एक दृश्यमा एक व्यक्तिलाई हतकडी लगाइएको छ, जहाँ प्रहरी अधिकृत किरन श्रेष्ठले सोधपुछ गरिरहेका छन् र एक महिला प्रहरी क्यामेराले भिडियो खिच्दैछिन् । यसले फिसिनेमामा अपराध र अनुसन्धानको पाटोलाई संकेत गर्छ ।

‘अभिमन्यु’ भदौ २७ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ भने हिन्दी भर्सन असोज ६ गतेबाट विश्वव्यापी प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ । सिनेमाले पैसाको प्रलोभनमा परेका व्यक्तिको संघर्ष, त्यहाँबाट बाहिर निस्कन खोज्दा भोग्नुपरेका चुनौतीहरूलाई कथा बनाएको छ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छन् । शरद महतोको छायांकन र मदन घिमिरेको सम्पादन रहेको सिनेमाले सामाजिक, भावनात्मक र अपराध-थ्रिलर तत्वलाई समेट्ने अपेक्षा गरिएको छ ।