कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीले ‘राम नाम सत्य’ नेपाली रजतपटमा डेव्यु गर्ने

कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीले ‘राम नाम सत्य’ नेपाली रजतपटमा डेव्यु गर्ने

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरी अब ठूलो पर्दामा डेब्यू गर्न तयार भएका छन् । उनी निर्देशक माइकल चन्दको निर्देशनमा बन्न लागेको सिनेमा ‘राम नाम सत्य’ मार्फत अभिनय यात्रा सुरु गर्न लागेका हुन् । सिनेमाका निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीसँग उनले आज कागजी सम्झौता गरेका छन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुने सिनेमा साइन गरेपछि आयुषले मिडियासँग प्रतिक्रिया दिँदै भने, ‘मलाई थुप्रै सिनेमाको अफर आइरहेको छ । तर ‘राम नाम सत्य’को कथा सुनेपछि यो फिल्मबाटै डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ, त्यसैले साइन गरेको हुँ ।’

निर्माता तथा निर्देशक टोलीका अनुसार आयुष केही महिनादेखि सिनेमाका लागि विशेष तयारीमा छन् । निर्देशक चन्दका अनुसार, ‘हामीबीच सहमति भएपछि उनलाई एक्सनको तालिम दिइरहेका छौं । अब अभिनय प्रशिक्षण पनि सुरु हुँदैछ । उनी सिनेमाका लागि निकै मिहिनेत गरिरहेका छन् ।’

साउन २९ गते शुभसाइत गरेर छायांकन सुरु गर्ने तयारीमा रहेको ‘राम नाम सत्य’ एक्सन, सस्पेन्स र प्रेमकथा मिश्रित सिनेमा हुने बताइएको छ । यो सिनेमामा यसअघि नै फाइनल भइसकेका कलाकारमा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायत छन् । निर्माण पक्षका अनुसार अब एक नायिका फाइनल गरेपछि कलाकार लाइनअप पूरा हुनेछ ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको सिनेमामा किशोर भट्ट र डा. डीआर उपाध्याय सह-निर्माताका रूपमा रहनेछन् । यो सिनेमाको डीओपी संजय लामा, हेड अफ प्रोडक्सन तेज विक्रम केसी र प्रोडक्सन कन्ट्रोलर नविन जंग शाह छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने सिनेमा चितवन, काठमाडौं लगायत स्थानमा छायांकन गरिनेछ ।