‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गर्दै अर्जुन घिमिरे (पाँडे)ले सुरु गरे छायांकन

‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गर्दै अर्जुन घिमिरे (पाँडे)ले सुरु गरे छायांकन

द सिनेमा टाइम्स
882
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेका चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) निर्देशक बनेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्वन्तरी बाराही मन्दिरमा डेव्यु निर्देशकिय सिनेमा ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका हुन् ।

गतवर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगोनि निर्माण तथा निर्देशन गरिरहेका थिए । गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनले निर्माण गरेको सिनेमा ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । यो सिनेमामा अर्जुन घिमिरे (पाँडे)को  पनी अभिनय रहको  थियो ।

‘झरीपछिको इन्द्रेणी’मा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी)लाई मात्र समावेश गरेका छन् । अन्य कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने सिनेमाको मुहूर्तपछि मिडियासँगको कुराकानीमा निर्देशक पाँडेले बताए । यो सिनेमाबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमव्याक गर्दैछन् । एउटा राम्रो टिमबाट कमव्याक गर्न पाउँदा आफु निकै उत्साहित रहेको कलाकार उप्रेती बताउँछन् ।

यो सिनेमामा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहने छ । सिनेमामा अर्जुन घिमिरे (पाँडे)को अभिनय रहने कि नरहने भन्ने खुलाइएको छैन् । शुभमुहूर्तसँगै आजैबाट छायांकन सुरु गरिएको सिनेमा काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ ।

पारिवारिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ४५ दिनको रखिएको छ । सिनेमामा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा गणेश कार्की, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो सिनेमालाई बुद्ध थापाले छायांकन र सुशील कडरियाको लगानी रहनेछ । सिनेमाको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप रहने जनाइएको छ ।