कर्णालीको वास्तविकतालाई पर्दामा उतार्ने सिनेमा ‘रेलको बाटो’ घोषणा

कर्णालीको वास्तविकतालाई पर्दामा उतार्ने सिनेमा ‘रेलको बाटो’ घोषणा

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कर्णाली प्रदेशको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई सिनेमाको माध्यमबाट उजागर गर्ने उद्देश्यसहित नयाँ नेपाली सिनेमा ‘रेलको बाटो’ बन्ने भएको छ । कस्तुरी प्रोडक्सन प्रालि र रेड अम्ब्रेला इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको सिनेमाको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्दैछन् ।

सिनेमाको औपचारिक घोषणा गर्दै निर्माण टिमले विषयवस्तुलाई संकेत गर्ने पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा ‘गाउँपालिका भवन उद्घाटन’ लेखिएको स्वागत गेट र ‘प्रधानमन्त्रीको ज्युलाई स्वागत छ’ भन्ने ब्यानरसहितको दृश्य देखिन्छ । यस दृश्यले विकासको नाममा हुने देखावटी कार्य र सत्ता केन्द्रको ‘दर्शनीय प्रयोगशाला’जस्तो व्यवहारमाथि व्यंग्य गरेको स्पष्ट संकेत गर्छ ।

सार्वजनिक पोस्टरमै देखिएको ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने सशक्त नाराले राज्यबाट पाउने आशा र निराशाबीचको द्वन्द्वलाई भावनात्मक रूपमा उठान गरेको देखिन्छ ।

निर्देशक सुनारका अनुसार, फिल्मले सामान्य नागरिकको संघर्ष, श्रीमान्-श्रीमतीको सम्बन्धमा देखिने उतारचढाव र राजनीतिक बेवास्तालाई कथानकको मूल आधार बनाउनेछ । कर्णालीका सडक अभाव, स्वास्थ्य सेवाको कठिनाइ, विकास योजनामा हुने हस्तक्षेप, र शक्ति केन्द्रको उपेक्षाजस्ता विषय सिनेमाको प्रमुख फोकस हुने जनाइएको छ ।

फिल्मको संगीत सुरज पण्डितले, छायांकन निसाल पौडेल र पोस्टर डिजाइन राकेश दाहालले गर्नेछन् । कार्यकारी निर्माता नगेन्द्र घिमिरे रहेका छन् भने सिनेमाको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ ।

निर्माण टिमका अनुसार सिनेमाको छायांकन कर्णाली प्रदेशका विभिन्न जिल्लामा यस वर्षको अन्त्यतिर गरिनेछ र २०८३ सालमा प्रदर्शनमा ल्याउने योजना रहेको छ । हाल सिनेमाको पटकथा अन्तिम तयारीमा छ भने कलाकारको टुंगो चाँडै लाग्ने तयारीमा रहेको जनाइएको छ।

यसअघि सार्वजनिक भएको ‘रेलको बाटो’ शीर्षकको म्युजिक भिडियोले निकै चर्चा पाएको थियो । अब सोही नाममा बन्ने सिनेमाले कहिल्यै नआउने रेलजस्तो आशा र कर्णालीको पीडालाई पर्दामा जीवन्त ढंगले प्रस्तुत गर्ने प्रयास गर्नेछ ।