द सिनेमा टाइम्स, काठमाडौं । साउन १६ गते अर्थात् भोली शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘रियाल रिङ्गेट’को प्रिमियर शो राजधानीमा सम्पन्न भएको छ । यो कार्यक्रममा सिनेमा युनिटका सदस्य, कलाकार, सञ्चारकर्मी तथा विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सिनेमाले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । निर्देशक विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माणमा बनेको सिनेमाले प्रवासी नेपालीहरूको संवेदनशील कथालाई पर्दामा जीवन्त बनाएको छ। ‘रियाल’ र ‘रिङ्गेट’ नामबाटै खाडी र मलेसियासँग जोडिएको प्रतीकात्मकता दर्शकलाई भावनात्मक रूपमा छुने प्रयास गरिएको छ।
प्रिमियरमा सिनेमा हेरेपछि धेरै दर्शक भावुक बनेका थिए । उनीहरूले ‘रियाल रिङ्गेट’लाई केवल सिनेमा नभई लाखौँ नेपालीको यथार्थको आवाज बताएका छन् । सिनेमाले सामाजिक, आर्थिक र राजनीतिक कारणले बिदेसिन बाध्य नेपालीहरूको प्रतिनिधित्व गरेको भन्दै प्रशंसा पाइरहेको छ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सिनेमा हेरेपछि अत्यन्त भावुक देखिए। उनले भने, ‘सिनेमा हेर्दा देश दुख्ने रहेछ। इराकमा १२ नेपाली मारिएको घटना सम्झाइदियो। राज्यले फर्किने ढोका पनि खोल्नुपर्छ।’ त्यस्तै, वरिष्ठ गायक प्रेमराजा महतले भने, ‘धेरैपछि कुनै नेपाली सिनेमाले यति गहिरो प्रभाव पारेको छ। यो सिनेमा हेरेर राजनीतिज्ञहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने देखिन्छ।’
सिनेमामा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन् भने छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, सीमा केसी लगायत दर्जनौँ कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ।
सिनेमाको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। छायांकन भारतको राजस्थानदेखि चितवन, काठमाडौं र लेटाङसम्म गरिएको छ। द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, सम्पादन विपिन मल्ल, छायांकन हरि घलेले गरेका छन् । सिनेमाका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत छ । गीतका शब्द अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्।
रेबेल फिल्म्सको ब्यानरमा बनेको ‘रियाल रिङ्गेट’लाई काफिया फिल्म्सले देशव्यापी रूपमा वितरण गर्दैछ। देशभरका प्रमुख मल्टिप्लेक्स क्युएफएक्स, आइएनआइ लगायतका हलले न्युन शोसहित अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् । हालसम्म सिनेमालाई देशभरका हलले अग्रीम टिकट बुकिङमा ५० शो पनि उपलब्ध गराएका छैनन् ।




प्रतिक्रिया