द सिनेमा टाइम्स, काठमाडौं । नेपाली समाजका संवेदनशील र समसामयिक विषयवस्तुहरूलाई उठान गर्ने उद्देश्यसहित निर्माण गरिएको सिनेमा ‘रियाल रिङ्गेट’ आज शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको छ । प्रवासी नेपाली श्रमिकहरूको जीवन, संघर्ष र यथार्थ भोगाइको कथामा आधारित यो सिनेमाको प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।
यो सिनेमाले देशभरका सिनेमा घरमा न्युन शो पाएपनि वितरकका अनुसार करिब १०० शो पाएको छ । सिनेमाले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको दुःखद र प्रेरणादायी कथालाई पर्दामा उतारेको छ । शीर्षक ‘रियाल रिङ्गेट’मै कतार, साउदी अरेबिया र मलेसियाको मुद्राको प्रयोग गरी प्रवासी जीवनको प्रतिनिधित्व गरिएको छ।
सिनेमामा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन् भने छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, रियर राई, विमला गिरी, ईश्वरी बराल, रोशन श्रेष्ठ लगायत कलाकारहरूको सशक्त अभिनय समावेश गरिएको छ।
गगनलाल प्रधान निर्मित र विभोर पोखरेल निर्देशित यो सिनेमाका लेखक प्रदीप भारद्वाज हुन् । छायांकन भारत, चितवन, काठमाडौं र लेटाङमा गरिएको हो । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, बिपिन मल्लको सम्पादन तथा किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर रहेको छ।
संगीत पक्षमा पनि सिनेमाले सशक्त उपस्थिति जनाएको छ। गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत, सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर तथा अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीका गीतशब्द रहेका छन्।
‘रियाल रिङ्गेट’ प्रवासी नेपालीको संवेदनशील कथा बोकेको सामाजिक सिनेमा हो, जसले दर्शकहरूलाई भावुक बनाउँदै सोच्न बाध्य बनाउने विश्वास निर्माण टिमको छ ।


प्रतिक्रिया