द सिनेमा टाइम्स, काठमाडौं । कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित सिनेमामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । निर्माण टिमका अनुसार सौगातले कथाको प्रमुख पात्र ‘जुठे दमाई’को चरित्र निर्वाह गर्नेछन् । उनी बिहीबार औपचारिक रूपमा सिनेमामा अनुबन्धित भएका हुन् ।
सौगातको प्रवेशसँगै सिनेमाको मुख्य कलाकारको टिम पूरा भएको निर्माण पक्षले जनाएको छ । सुशील पोखरेलको लगानी रहने सिनेमामा सौगातसहित प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ पनि अनुबन्धित भइसकेका छन् ।
सिनेमाको गीत-संगीत पक्षमा पनि अनुभवी टोली संलग्न रहने निर्माण टिमको भनाइ छ । गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुत रहने छन् भने संगीत संयोजनमा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले काम गर्नेछन् ।
सिनेमाको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् भने छायांकन भदौ २६ गतेदेखि म्याग्दी आसपासका स्थानहरूबाट सुरु गरिने जनाइएको छ । छायांकन संकल्प भुजेलले गर्ने छन् । सिनेमामा रामजी लामिछानेको नृत्य निर्देशक, सुशील देवकोटाको लेखन, सुलक्षण भारतीको स्क्रिप्ट डक्टर र नगेन्द्र घिमिरेको प्रोडक्सन म्यानेजरको समेत टोली रहनेछ ।
निर्माता पोखरेलका अनुसार सिनेमाले समाजमा सशक्त सन्देश दिनेसाथै दर्शकलाई कथा र पात्रमार्फत गहिरो प्रभाव पार्ने उद्देश्य राखिएको छ । गुरु प्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश यो कथामा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमाको रूपमा प्रस्तुत गरिसकेका थिए। नयाँ संस्करणले आधुनिक सन्दर्भ र सिनेम्याटिक प्रस्तुति मार्फत कथालाई पुनः जिउँदो बनाउने प्रयास गर्ने जनाइएको छ ।


प्रतिक्रिया